माघ १०, बुटवल । नेकपाले आयोजना गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा माघ ९ गते अर्घाखाँचीबाट एकजना सहिद परिवार सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
सहिद परिवारलाई भेटघाट गर्न जानेक्रममा माघ ९ गते साँझ ६ बजे भूमिकास्थान नगरपालिकाको वडा नं. १० धनचौरबाट सहिद परिवारका सदस्य विरबहादुर विक र उनीसँगै साथी गएका धनबहादुर मुखियालाई प्रहरीले अनावश्यक र विनाकारण पक्राउ गरेको जनक्रान्तिका महान सहिद परिवार संगठन नेपाल लुम्बिनी ब्युरो संयोजक जया पौडेलले बताएकी छन् । विक जनक्रान्तिका महान सहिद परिवार संगठन नेपाल कपिलवस्तुका संयोजक हुन् भने मुखिया समाजसेवी हुन् ।
ब्युरो संयोजक पौडेलले विक र मुखियालाई प्रहरीले तत्काल रिहाइ गर्न माग गर्दै सहिद परिवार र सर्वसाधरणलाई पक्राउ गर्नु दुखद र निन्दनीय भएको बताइन् । उनले महान जनयुद्ध र जनआन्दोलनमा सहिदहरुको उच्च योगदान रहेको भन्दै आज दलाल राज्यसत्ताले सहिद परिवार र श्रमजीवी जनतामाथि दमन गरिरहेको बताइकी छन् । पौडेलले विक र मुखियालाई विनाशर्त सम्मान तत्काल रिहा गर्न माग गरेकी छन् ।
विक र मुखियालाई अहिले जिल्ला प्रहरी कार्यालय सन्धिखर्कमा राखिएको पारिवारिक स्रोतले बताएको छ ।
प्रतिक्रिया राख्नुहोस्