१० लाख डोज कोभिसिल्ड खोप नेपाल आइपुग्यो

२३ फागुनदेखि दोस्रो चरणको खोप अभियान सञ्चालन

१० लाख डोज कोभिसिल्ड खोप नेपाल आइपुग्यो

फागुन ९, बुटवल । नेपालले कोरोना भाइरसविरुद्धको खोप उत्पादन गर्ने सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेको २० लाखमध्ये १० लाख डोज खोप काठमाडौं आइपुगेको छ ।

नेपालले २० लाख डोज खोपका लागि करिब ९३ करोड रुपैयाँ भुक्तानी गरेको थियो । आइतबार दश लाख डोज कोभिसिल्ड खोप आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । एयर इन्डियाको उडानमार्फत खोप ल्याइएको हो ।

२३ फागुनदेखि सञ्चालन गर्ने दोस्रो चरणको खोप अभियानका लागि उक्त खोप खरिद गरिएको हो । २३ फागुनबाट ५५ वर्षमाथि उमेर समूहमा खोप लगाइनेछ ।

उक्त  खोप  विमानस्थलबाट टेकुस्थित कोल्ड रुममा भण्डारण गरी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरका खोप केन्द्रमा वितरण गरिनेछ ।