मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास विहिवार हुने

६ ठूला औद्योगिक क्षेत्रको निर्माण सुरु हुँदै

मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास विहिवार हुने

फागुन ११, बुटवल । रुपन्देहीमा बन्न लागेको मोतिपुर औद्योगिक क्षेत्रको निर्माण कार्य यसै हप्ता सुर हुने भएको छ। यही फागनु १३ गते विहीवार अर्थमन्त्री विष्णु पौडेलबाट औद्योगिक क्षेत्रको सिलन्यास हुने कार्यक्रम छ। औद्योगिक क्षेत्र निर्माणको लागि २ वर्ष अघि नै डिपिआर तयार भएर कार्यालय स्थापना भएपनि अहिले आएर शिलान्यास हुन लागेको हो।

बुटवल उपमहानगरपालिकाको मोतिपुर, तिलोत्तमा नगरपालिका, सुद्धोधन गाउँपालिका र सियारी गाउँपालिका समेटिने गरि तिनाउ नदिको आसपासमा औद्योगिक क्षेत्र निर्माण हुन लागेको हो। 

औद्योगिक क्षेत्र निर्माणको कुल लागत १२ अरब रुपैया रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका योजना प्रमुख सञ्जय मानन्धरले बताए। ‘गुरुयोजना अनुसार आवश्यक विजुली, पानी ढल बाटो, स्वास्थ्य क्लीनिक, लगायत उद्योगलाई आवश्यक पर्ने पूर्वाधार सबै बन्छ।’ उनले भने ‘२ सय ६२ वटा प्लट रहने छ। जसमा ठूला उद्योगको लागि १ सय २९ वटा, मझौला उद्योगको लागि ५१ र साना उद्योगको लागि ९२ वटा प्लट निर्माण हुने छ।’

औद्योगिक क्षेत्रमा १ सय ३३ केभि लाइनको राखेर सवस्टेसन राखिने छ। त्यसै गरी खानेपानीको लागि डिप बोरिङ व्यवस्था गरिने मानन्धरले बताए। त्यसबाहेक उद्योगलाई चाहिने सेवाहरु सबै औद्योगिक क्षेत्रभित्रै प्राप्त हुने उनले बताए। ‘वान स्टेप सेन्टर सर्भिस राख्ने योजना पनि छ। उद्योग दर्ता, भन्सार, कर तिर्ने लगायतका सेवाको लागि सरकारसँग छलफल भएको छ।’ उनले भने ‘त्यसको लागि एउटा प्लट छुट्याइएको छ। त्यसो भएपछि व्यवसायीहरुलाई सजिलो भयो।’

सरासर काम हुन पाएमा ५ वर्षमा मोतिपुर औद्योगिक क्षेत्रको काम सकिने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सञ्जय मानन्धरले बताए। औद्योगिक क्षेत्र निर्माणको लागि विदेशी कम्पनीलाई आमन्त्रित गर्ने तयारी पनि भएको उनले बताए। 
 
रुपन्देहीको मोतिपुरसँगै बाँकेको नौबस्ता, कञ्चनपुरको दैजी–छेला, मकवानपुरको मयूरधाप, चितवनको शक्तिखोर र झापाको दमकमा ठूला औद्योगिक क्षेत्र निर्माण एक साथ जसो सुरु हुन लागेको हो।  

कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्रको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरिसकेका छन्। बाँकेको नौबस्ता औद्योगिक क्षेत्रको उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मंगलबार शिलान्यास गरेका छन्।

दमक औद्योगिक क्षेत्रको १६ फागुनमा प्रधानमन्त्री ओली र मयुरधाप औद्योगिक क्षेत्रको फागुन १४ गते मन्त्री भट्टले शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

अर्थ मन्त्रालयले आवश्यक बजेट दिने प्रतिबद्धता गरेपछि औद्योगिक क्षेत्र निर्माण सुरु गर्ने तयारी गरेको औद्योगिक क्षेत्र विकास लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले बताए।  औद्योगिक क्षेत्र सञ्चालनमा आएपछि ५२ हजारले रोजगारी पाउने डिपिआरले देखाएको छ ।