नेकपाद्धारा कैलालीमा जनसभा कार्यक्रम सम्पन्न

बरू आफू बलिदान गर्न तयार तर दलाल राज्यसत्तासंग नझुक्ने : ओमप्रकाश पुन

नेकपाद्धारा कैलालीमा जनसभा कार्यक्रम सम्पन्न

चैत ६, बुटवल । नेपाल कम्युनिस्ट पार्टी घोडाघोडी नगरकमिटि कैलालीले २३ औं सांस्कृतिक प्रतिरोध दिवसको सन्दर्भमा बृहत जनसभा कार्यक्रम बिहिवार भव्यताका साथ सम्पन्न गरेको छ ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुनले बरू आफू बलिदान गर्न तयार रहेको तर दलाल राज्यसत्तासंग नझुक्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले नेकपामाथि लगाइएको प्रतिबन्धको औचित्य  पुष्टि गर्न नसकेपछि सरकारले बाध्य भएर नेकपासंग वार्ता गरेको समेत बताएका थिए । पुनले दलालहरूले क्रान्तिकारीहरूलाई जेल, नेल र यातनाले गलाउने सपना नदेख्न सरकारलाई चेतावनी समेत दिएका थिए । 

जनसभालाई सम्बोधन गर्दै थारूवान जनपरिषद प्रमुख राम बहादुर थारूले थारू लगायत आदिवासी जनजातिका अधिकार सुनिश्चित हुनुपर्ने बताए । उनले थारू जनसमुदायको अधिकार प्रप्तिका निमित्त वैज्ञानिक समाजवाद स्थापना हुनुपर्ने बताए । 

उक्त जनसभालाई अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा सेतीमहाकाली ब्यूरो इन्चार्ज विरेन्द्र शाह, महिला नेतृ सुनिता लगायतले सम्बोधन गरेको बताइएको छ । 
नगर इन्चार्ज भरत शाहको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन विद्यार्थी नेता बबरजंग सिंहले गरेका थिए भने स्वागत मन्तव्य श्याम सापकोटाले गरेका थिए ।