बर्दियामा विविध सांस्कृतिक कार्यक्रमसहित विद्यार्थी सभा सम्पन्न

जनताको अधिकार स्थापित गर्न वैज्ञानिक समाजवाद आवश्यक रहेको : इन्चार्ज विकास

बर्दियामा विविध सांस्कृतिक कार्यक्रमसहित विद्यार्थी सभा सम्पन्न

बर्दिया : अखिल (क्रान्तिकारी) जिल्ला समिति बर्दियाको आयोजनामा सांस्कृतिक कार्यक्रमसहित विद्यार्थी सभा सम्पन्न भएको छ । बर्दिया जिल्लाको मधुवन नगरपालिका स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा सांस्कृतिक कार्यक्रम तथा विद्यार्थी सभा सम्पन्न भएको हो ।

उक्त सभालाई नेपाल कम्युनिष्ट पार्टी बर्दिया जिल्ला इन्चार्ज विकासले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै इन्चार्ज विकासले देशमा कस्तो शासन व्यवस्था रहने भन्ने निर्णय गर्ने अधिकार जनतालाई दिनुपर्ने बताए । आफ्नो पार्टी राष्ट्रिय स्वाधिनताको रक्षा र जनअधिकारका लागि संघर्षमा रहेको बताउँदै जनताको अधिकार स्थापित गर्न वैज्ञानिक समाजवाद आवश्यक रहेको बताए । आफ्नो पार्टीले एनसेलले कर तिर्नुपर्छ भन्दा, भ्रष्टाचार अन्त्य गर्नुपर्छ भन्दा सरकारले प्रतिबन्ध लगाएको भन्दै सरकार प्रतिबन्ध हटाउन तयार भएपछि आफ्नो पार्टी वार्तामा आएको उनको भनाइ थियो । आफुहरू तीन बुँदे सहमतिलाई इमानदारीपूर्वक कार्यान्वयन गरिरहेको भए पनि सरकारले बिलम्ब गरिरहेको उनको भनाइ थियो ।

विद्यार्थी सभालाई सम्बोधन गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा भेरी कर्णाली ब्युरो संयोजक हर्क बहादुर विकले नेपालको शिक्षा पद्धति बेरोजगार उत्पादन गर्ने कारखाना जस्तै भएको भन्दै शिक्षा क्षेत्रको आमुल परिवर्तन आवश्यक भएको बताए । शैक्षिक क्षेत्र पनि निजीकरण, व्यापारीकरण हुँदै दलाल र माफियाको हातमा पुगेको भन्दै निजीकरणको अन्त्य हुनुपर्ने बताए ।

सभामा अखिल नेपाल महिला संघ क्रान्तिकारी भेरी कर्णाली ब्युरो संयोजक शान्ति विक, भेरी कर्णाली जनसांस्कृतिक परिवारका टोलि प्रमुख लगायतका अतिथीहरू रहेका थिए भने अखिल (क्रान्तिकारी) बर्दिया इन्चार्ज लोकेश जोशीको अध्यक्षतामा भएको थियो ।

नेकपा बर्दियाले यसअघि पनि बढैयाताल गाउँपलिका ४ खैरेनी र ठाकुरबाबा नगरपालिकाको भुरीगाँउमा सांस्कृतिक कार्यक्रम सहित जनसभा सम्पन्न गरेको नेकपा बर्दिया इन्चार्ज विकासले जानकारी दिए ।