चैत २०, बुटवल । अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघको सातौं राष्ट्रिय सम्मेलन बुटवलमा सम्पन्न भएको छ । सम्मेलनले १९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । जसको अध्यक्षमा श्याम सेन्चुरी, उपाध्यक्षमा लालबहादुर तामाङ, महासचिवमा दीपेन्द्र घिमिरे र सचिवमा सहदेव सिंह र सदस्यमा दिनेश कुमार थारु, युवराज न्यौपाने, जीवन खनाललगायत रहेका छन् ।
सम्मेलनलाई सम्बोधन गर्दै नेकपा लुम्बिनी ब्युरो सदस्य एवं नवलपुर इन्चार्ज शरद वलीले दलाल पुँजीपति वर्ग र नेपाली श्रमिक वर्गबीच नै मुख्य अन्तरविरोध रहेको भन्दै मजदुर वर्गको मुक्ति वैज्ञानिक समाजवादमार्फत् हुने बताए । नेता वलीले मजदुर आन्दोलनको इतिहासमा नेतृत्वले कैयौंपटक धोका दिएपनि क्रान्ति नरोकिएको बताउँदै हरेक प्रतिक्रान्तिको जवाफ क्रान्तिले दिनुपर्ने बताए । नेता वलीले पार्टी र सरकारले गरेको ३ बुँदे सहमतिलाई सरकारले तत्काल कार्यान्वयन गर्नुपर्ने भन्दै संसदीय व्यवस्थाको विकल्पका रुपमा वैज्ञानिक समाजवादको पक्षमा जनमत निर्माण गर्ने बताए ।
सम्मेलनमा नवनिर्वाचित अध्यक्ष श्याम सेन्चुरीले एकीकृत जनक्रान्तिको नेतृत्व मजदुर वर्गले गर्नुपर्ने बताउदै त्यसका लागी संगठनमा आवद्ध हुनुपर्ने बताए । जनक्रान्तिका महान सहिद तथा बेपत्ता योद्धा संगठन नेपालका केन्द्रीय सचिव जया पौडेल र अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य एवं लुम्बिनी ब्युरो संयोजक खोमा तरामु मगरले शुभकामना मन्तव्य व्यक्त गर्दै विश्व समाजवादी आन्दोलनको इतिहासमा श्रमिक वर्गको नेतृत्व रहेको भन्दै यसलाई मजदुर आन्दोलनमा देखिएको अर्थवादविरुद्ध संघर्ष गर्नुपर्ने बताए ।
सम्मेलनमा देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्