वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन

बुटवल । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । ८५ वर्षीय गायक प्रधानको बिहीबार सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा निधन भएको जनाइएको छ ।

१२ दिनदेखि सोही अस्पतालमा उपचाररत प्रधानलाई कोभिड संक्रमणको आशंका गरिए पनि उनको परीक्षणमा नेगेटिभ आएको थियो ।

१९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा जन्मिएका प्रेमध्वजका ‘घुम्तीमा नआउ है’, ‘पर लैजाउ फुलहरु’, ‘नमान लाज यस्तरी’ जस्ता दर्जनौं लोकप्रिय कालजयी गीतहरू छन् । प्रधानले नेपाल भाषाको गीत पनि गाएका छन् ।

नेपालमा पहिलोपटक गितार बजाएर सांगितिक कला प्रस्तुत गर्ने प्रधान पहिलो थिए ।

भारतका लोकप्रीय कलाकार उषा मंगेशकरसँग उनले माइतीघर चलचित्रका लागि युगल गीत समेत गाएका थिए । रेडियो नेपालमा उनको ७ सयभन्दा बढी गीत रेकर्ड छ ।

प्रेमध्वज प्रधानका पत्नी किरण देवी र दुई छोराहरु प्रसन्न र कविर प्रधान अमेरिकामा छन् ।