त्यो विद्रोह पनि हो !  

चुँडाउलान् भनेर कसैले  म फूल्न छाड्दिनँ ! ढुङ्गा हान्लान् भनेर कसैले  म फल्न छाड्दिनँ !!

 त्यो विद्रोह पनि हो !  

-पारस राहादी मगर 

चुँडाउलान् भनेर कसैले 
म फूल्न छाड्दिनँ !
ढुङ्गा हान्लान् भनेर कसैले 
म फल्न छाड्दिनँ !!

रातको करिब १ बजेको समय । म निदाइरहेको थिएँ । प्रदिप निदाएको रहेनछ । प्रदिपले ब्युँझायो र भन्यो, “एई ! तिम्रो बैनीको त बिहे भएछ नि । के हो ?” एक्कासि यो सुन्दा म झसङ्ग भएँ । पत्यार लागेको थिएन । सपनै हो कि जस्तो पनि भयो । तर फेसबुक भरि बधाईको ओइरो आइसकेको रहेछ । मेरो निद्राले कुलेलम ठोक्यो । 

बिहे त ग¥यो । तर कोसँग ? उसको प्रेमि को हो ? मलाई भने थाहा पत्तो नाइँ  ! प्रदिप ब्रोले भन्यो, “रोशन सुनारसँग !” “हो र !” भनेँ । फिस्स हाँसे । तत्काल अरु प्रतिक्रिया जनाइनँ । विस्तारामा पल्टिएँ । मनको अनेकानेक कुरा खेल्न थाल्यो । किन हतार ग¥यो यस्ले ? बल्ल एघारमा त पढ्दैछ । पढाई के हुन्छ ? भर्खर त एकबिस लाग्दैछ । बिहे गर्ने उमेर नि भैसकेको छैन । काम कुरा एकातिर, कुम्लो बोकी ठिमीतिर भयो । यावत् कुराहरूले तँछाडमँछाड गरिरह्यो । 
०००
बिहान खिमा दिदीको फोन आएपछि उठेँ । घर बाबालाई फोन गरेँ । आमालाई फोन गरेँ । बाबाआमालाई पनि थाहा पत्तो छैन । उसले भागिविवाह गरेछ । मैले घटनाको बेलिविस्तार लाएँ । बाबाले खासै प्रतिक्रिया जनाएनन् । आमाको भने आक्रोश पोखियो । मैले अस्वभाविक लिइनँ । मैले भनेँ, ‘जातको बिषयलाई लिएर आपत्ति लिनुपर्ने वा तर्सिनु पर्ने केही पनि छैन । बरु बिहे छिटो ग¥यो । त्यस्तो हतार नगरेको भए हुन्थ्यो । चिन्ता नलिनु ।’ तर भन्ने बित्तिकै सब ठिकठाक हुने कुरा पनि भएन । केही दिनपछि सब सामान्य हुँदै जानेछ । सामान्य बनाउन सक्छु भनेर तत्काल धेरै प्रतिक्रियाहरू जनाइनँ । बैनी ज्वाँइलाई पनि फोन गरेँ । 

परिवार, नातेदार, आफन्तजनहरूबाट विभिन्न प्रतिक्रियाहरू आइरहेका छन् । ‘पानी नचल्ने जातसँग नजानुपथ्र्यो । आफ्नो जात भनेको आफ्नै हो । संस्कार मिल्दैन । चलिआएको चलन अहिल्यै तोड्न नि मिल्दैन । अरुहरूले के भन्छन् ? भाइ/समाजले एक्ल्यायो भने के गर्ने ? त्यसले बिरायो । शत्तुर (शत्रु)  हँसायो ।’ जस्ता प्रतिक्रियाहरू आइरहेका छन् । विभेदकारी चिन्तनले ग्रस्त हाम्रो समाजमा यो प्रतिक्रिया कुनै नौलो वा अस्वभाविक पनि भएन । तर आजको समाजको यो हदै दरिद्र चिन्तन हो । अझ भन्ने हो भने आपराधिक चिन्तन हो ।

अन्तरजातीय बिहे भएकै कारण धेरैलाई उकुसमुकुस भएको मैले महसुस गरेको छु । त्यसमा पनि दलित (केटा) र गैरदलित (केटी) बीचको प्रेम/विवाह हो यो । सामाजिक सञ्जालमा त बधाईको ओइरो छ । फोन, मेसेजमा मिश्रित प्रतिक्रिया आइरहेछ । तर, खासगरि विभेदकारी सामाजिक–सांस्कृतिक संरचनाको जरामा भने हङ्गामा भयो । जिल खायो । रन्थनियो सायद ! दलित र गैरदलित बिचको प्रेम/विवाहलाई मुखले बधाई र शुभकामना त दिन्छन् तर के आजको हाम्रो समाजको नयाँ पुस्ताले यसलाई सजिलै स्वीकार्ने हिम्मत राख्छ त ? मलाई के लाग्छ भने, आजको समाजको नयाँ पुस्ता ‘यो ठिक हो’ भन्नेसम्म आइपुगेको छ । सजिलै स्वीकार्ने तहमा भने पुगिसकेको छैन । नयाँ पुस्ता समग्रमा अझै निरीह देखिन्छ ।

कुरा के हो भने, समाजमा जातीय विभेद गर्न हुन्न भन्ने चेतना आइसकेको त छ । अरु उठबसहरू पनि सामान्य बन्दै पनि गइरहेको छ । मानिसहरू जातीय विभेद गर्दा कानुनी रुपमा नै दण्डसजाय भोग्नुपर्छ भन्ने कुराको पनि जानकार छन् । तर, समाजमा यसलाई व्यवहारिक हिसाबले दृढतापूर्वक स्वीकार्नु अझै पनि फलामको चिउरा चपाउनु जस्तै छ । हाम्रा दृष्टिहरूमा विभेदकारी चिन्तनको हस्तक्षेप निकै बलियो छ कि त्यो सजिलै मिल्काउन सकिएको छैन । कानुन बनेपनि कार्यान्वयन हदैसम्म फितलो छ । यसले पनि वर्ग हेर्दो रहेछ । भुँईमान्छेहरूलाई कानुनले न्याय दिन पनि सकेको छैन । यसको पछिल्लो उदाहरण नवराज विक हत्याकाण्डलाई लिन सकिन्छ । यो हाम्रो समाजको कटु सत्य हो ।
०००
दसबर्षे माओवादी जनयुद्धले जातीय विभेदको हाँगा त लाछ्नुसम्म लाछ्यो । विभेदकारी सामाजिक–सांस्कृतिक–राजनीतिक संरचनामा उथलपुथल पनि ल्यायो । आम मान्छेहरूमा चेतनाको स्तर बढायो । दृष्टिकोण बदल्यो । जनयुद्ध कालभरि अन्तरजातीय विवाहको एकप्रकारले भन्ने हो भने बाढी नै आयो । हजारौँ जोडिहरूले अन्तरजातीय विवाह गरे । आज पनि यो क्रम जारी छ । तर दुःखद् कुरा के छ भने जब दसबर्षे जनयुद्ध बिसर्जनतिर गयो । विभेदकारी, शोषणकारी चिन्तन, व्यवहार, संरचनाको जरा उखेलेर निमित्यान्न पार्न बाँकी नै थियो । माओवादी नेतृत्वहरूमा अक्षम्य विचलन आयो, त्यसपछि जनयुद्धले निर्माण र स्थापित गरेका अधिकांश मान्यताहरू भताभुङ्ग हुँदै आयो । जनयुद्धको समयमा स्थापित अन्तरजातीय बैवाहिक सम्बन्धहरू भत्किन थाले । त्यसप्रकारको प्रतिक्रान्तिले जातीय विभेद झन् बलियो बनेर मौलाइरहेको हामीले भोगिरहेका छौँ । सबैखाले विभेदहरू विरुद्ध निरन्तर मोर्चा कस्नु अपरिहार्य छ ।

‘अरुले के भन्लान् ? एक्लिइने हो कि ? चलिआएको संस्कार, चलनचल्ती तोडिहाल्न हुँदैन ।’ जस्ता चिन्तन र डरहरूले व्यक्ति वा समाजलाई अगाडि बढ्न दिएको छैन । यथार्थमा समाजले यो भ्रमलाई ‘सत्य’ रुपमा स्वीकार गरेको छ । जुन भ्रम तोड्न डराउनु, डराउनु मात्र होइन । भ्रमलाई अझै बढ्ता स्थापित गर्नु हो । यसो गर्नु भनेको डरैडरमा अपराध गर्नु हो । यो भ्रमको पर्दा च्यातेर हेर्ने हो भने सत्य अर्कै भेटिन्छ । कुरा यत्ति हो कि, भ्रमको पर्दा च्यात्ने आँट गर्न खुट्टा कमाउनु । आउनसक्ने दुःख, कष्ट, जोखिमसँग जुध्न हिच्किचाउनु । आजको नयाँ पुस्ता जोखिम मोल्न तयार हुनुपर्छ । तर लड्नको निम्ति हतियार चाहिन्छ । त्यो हतियार भनेको क्रान्तिकारी विचार राजनीति÷ क्रान्तिकारी विश्वदृष्टिकोण हो । 
०००
यी दुई पात्रबीचको विवाह सम्बन्धमा बरु मेरो असहमति केमा हो भने यति छिटै विवाह गरिहाल्न हुन्थेन । यो हतार भयो । विद्यालयीय/विश्वविद्यालयीय अध्ययन बाँकी छ । आफुलाई आफनै खुट्टामा टेकाउन सक्ने गरि सक्षम बन्न बाँकी नै छ । यसमा मेरो असहमति हो । तर यहीँ असहमतिलाई निहुँ बनाएर बाँकी कुरालाई छाँयामा राख्न भने चाहान्नँ ।

छिटो बिहे गर्ने हाम्रो समाजको डरलाग्दो समस्या हो । जसले गर्दा उनीहरू आफुलाई चौतर्फी विकास गर्ने अवसरबाट बञ्चित हुन बाध्य छन् । विवाहपछि अनेक जिम्मेवारी, बन्धनहरूले जेलिएर जीवन जिउनु पर्ने बाध्यता छ । साँघुरो पोखरीको माछा झैँ ! यो हाम्रो समाजको कटु यथार्थ हो । तर, हाम्रो समाजले यसलाई आँखा चिम्लेर काखी च्यापिरहेको छ । यो कुरालाई पनि तोड्नु अनिवार्य आवश्यक थियो र छ । तर त्यसप्रकारको जालोलाई च्यात्नै पर्छ । 
०००
जे ठिक हो, त्यो गर्ने हो । शत्तुर हाँसे, हाँस्न दिनू । ती पछि आफै ग्लानिले आफै मुख छोप्ने छन् । आफ्रूलाई गर्व गर । एउटा भनाई छ, “बाटाहरू जति कष्टडायक भए पनि निरन्तर हिँड्दै जाऊ । तिमीलाई तिम्रो सुन्दर भविष्यले पर्खिरहेछ ।” दुवै जनाले मान्छे हे¥यौ, जातपात हेरेनौ । प्रेममा जातको तँगारो भाँचिदियौ । यो गर्वको कुरा हो । दुवैले आफ्नो अध्ययनलाई निरन्तरता देऊ । यो जीवनको सुरुवात हो, यसैलाई सम्पूर्णता नठान । संयमित र दृढताका साथ आफनो जीवन लक्ष्यतर्फ समर्पित होऊ । चूनौतीहरूलाई धैर्यतापूर्वक, दृढतापूर्वक र इमान्दारीका साथ सामना गर्दै अगाडि बढ । यहीँ आशा गर्दछु र मेरो तर्फबाट भरपुर सहयोग हुनेछ । आजको सामाजिक–सांस्कृतिक संरचनामा यो विवाहमात्र होइन, विद्रोह पनि हो । ती कलिला पाइलाहरूले कदम उठाइसकेका छ । त्यसबाट पछि नहट्नू । फेरि पनि भन्छु, धैर्य, संयम, दृढ भएर निरन्तर अघि बढ्नू । दुवै जनालाई वैवाहिक जीवनको हार्दिक शुभकामना !
०००

जेठ ३,२०७८ बुटवल ।