अखिल ( क्रान्तिकारी ) कपिलवस्तुद्वारा राहत वितरण

कपिलवस्तु । नेकपा निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले आइतबार कोरोना भाइरसबाट आक्रान्त बुद्धभूमी नगरस्थित टाकु, बक्टापुर र मसौरेका ४१ घरपरिवारलाई अत्यावश्यक खाद्य सामाग्री र स्वास्थ्य सामग्री वितरण गरेको छ ।   

राहत प्याकेजमा ४५० किलोग्राम चामल, नुन, १२०० वटा माक्स , ७० वटा सेनिटाइजर, ५५ वटा साबुन, जीवनजललगायत सामग्री वितरण गरेको सङ्गठनका जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले बताए । 

कोभिड–१९ विरुद्धको स्वास्थ्य जनचेतना तथा राहत वितरण कार्यक्रम गाउँका जनताको बिचमा संगठनका जिल्ला उपाध्यक्ष संगीता विकको अध्यक्षता, संगठनका जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीको प्रमुख आतिथ्य, नेपाल कम्युनिस्ट पार्टी बुद्धभूमी नगर सेक्रेटरी सन्देश, सहसेक्रेटरी वीरबहादुर, युवा संगठन नेपाल बुद्धभूमी नगर अध्यक्षको आतिथ्य र संगठनकी जिल्ला सहसचिव करिश्मा भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो । 

कार्यक्रममा नेकपा बुद्धभूमी नगर सेक्रेटरी सन्देशले अहिलेको विषम परिस्थितिमा आफ्नो पार्टी निरन्तर जनताको सेवामा लागिरहेको र लागिरहने प्रतिबद्धता राखे ।

सङ्गठनका जिल्ल्ला अध्यक्ष विज्ञान क्षेत्रीले आफूहरू निरन्तर जनताको सेवामा रहेको र कोभिड विरुद्धको लडाइँ जितरै छोड्ने विश्वास व्यक्त गरे । उनले महामारीको समयमा आआफ्नो ठाउँबाट सहयोग गर्ने उद्योगी–व्यवसायी र स्वास्थ्य क्षेत्रमा क्रियाशिल व्यक्तिहरूलाई धन्यवाद दिए ।