जनप्रगतिशिल मोर्चा यूरोपद्वारा जनस्वास्थ्य सेवा केन्द्र भवन निर्माणका लागि आर्थिक सहयोग 

१८ लाख १५ हजार नेपाली रुपैयाँ सहयोग

जनप्रगतिशिल मोर्चा यूरोपद्वारा जनस्वास्थ्य सेवा केन्द्र भवन निर्माणका लागि आर्थिक सहयोग 

कपिलवस्तु  । नेपाली जन प्रगतिशील मोर्चा यूरोपले जनस्वास्थ्य सेवा केन्द्र भवन निर्माण लागि १८ लाख १५ हजार नेपाली रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । नेपाली जनप्रगतिशिल मोर्चा यूरोपले नेकपाका महासचिव विप्लपलाई कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ मा निर्माणधीन अवस्थामा रहेको जनस्वास्थ्य सेवा केन्द्र भवन निर्माणका लागि आइतबार भर्चुअल मिटिङमार्फत् उक्त रकम हस्तान्तरण गरेको हो ।   

कोरोना महामारीको उच्च जोखिम बढ्दै गएपछि जनताका स्वास्थ्यलाई मध्यनजर गर्दै तत्काल जनस्वास्थ्य केन्द्र सञ्चालनमा ल्याई कोरोना संक्रमितहरुको उपचारका लागि १५ शैयाको आइसोलेसन वार्ड संचालनमा ल्याउन लागेको हो ।

रकम हस्ताँतरण कार्यक्रममा महासचिव विप्लवले स्थानीय जनताहरुको सहज उपचारका लागि भवन निर्माण गरि आइसोलेसन सञ्चालनमा ल्याउने कार्य सराहनीय हुने बताए । अहिले कोरोनाको दोस्रो लहर निकै खतरनाक रहेकाले यो महामारी फेरि कति बेला आउन सक्छ भन्ने कुनै निश्चित समय नभएकोले यसबाट जनतालाई बच्न र बचाउनका लागि  जिल्लामै सबैभन्दा ठूलो अस्पतालका रुपमा निर्माण गर्न लागेको उनले बताए । 

महासचिव विप्लवले अस्पताल निर्माण गर्न विभिन्न संघसंस्था र व्यक्तिहरुले सहयोग गरेको  बताउँदै नागरिकको स्वास्थ्य सुरक्षा नै अहिलेको पहिलो प्राथमिकताको विषय रहेको बताए । देशभरि कोरोनाको उपचारमा कठिनाई हुँदै गएको अवस्थामा यस्तो विषम परिस्थितिलाई सामना गर्न तत्काल अस्पताल निर्माण गर्न अति आवश्यक रहेको बताए । 

महासचिव विप्लवले अस्पताललाई अझ विस्तार गर्न, प्रभावकारी सेवा प्रदान गर्न पार्टीले सरकारसँग पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । कोरोना संक्रमणबाट सिकिस्त भएर अस्पताल जाँदा अस्पतालमा बेड नपाइने समस्या रहेकाले छिटो भन्दा छिटो निर्माण कार्य सम्पन्न गरी अस्पतालबाट सहज रुपमा सेवा दिइने उनले बताए । निर्माण कार्य तिव्र रुपमा भईरहेको समेत उनले बताए ।

महासचिव विप्लवले जनताका सेवाका लागि निर्माणधीन अवस्थामा रहेको अस्पताल निर्माण कार्य सम्पन्न गर्नका लागि विदेशबाट आर्थिक सहयोग गर्ने नेपाली जन प्रगतिशील मोर्चा यूरोपका सबै सदस्यहरुलाई धन्यवाद दिए । यसरी नै हरेक कार्यमा हातेमालो गर्दै जाने हो कुनै पनि काम असम्भव नरहेको महासचिव विप्लवको भनाई थियो ।

जनस्वास्थ्य सेवा केन्द्र निर्माण समितिका अध्यक्ष यादव चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका महासचिव विप्लपको प्रमुख  आतिथ्य रहेको थियो । 

कार्यक्रममा नेकपाका सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख कञ्चन, जनस्वास्थ्य सेवा केन्द्र निर्माण प्रचार प्रसार संयोजक बिक्रम केसी, जिल्ला इन्चार्ज जुझारु, शिवगढी गाउँ कमिटी इन्चार्ज पावेल, युवा संगठन नेपालका जिल्ला अध्यक्ष बादल लगायत केन्द्र तथा जिल्ला स्तरका नेता–कार्यकर्ता, समर्थक, जनसमुदाय, समाजेवी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।