अखिल (क्रान्तिकारी) कास्कीद्वारा रक्तदान

पोखरा । नेकपा निकट अखिल (क्रान्तिकारी) कास्कीले कोरोना महामारीको जटिल परिस्थितिका बाबजुद पनि रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सङ्गठनले आइतबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा रहेको रेडक्रस भवनको कार्यालयमा रक्तदान गरेको हो ।

बढ्दो महामारीकाबीच आवश्यक रगत आपुर्तिमा कमी हुन नपाओस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको र रक्तदान कार्यक्रम सम्पूर्ण स्वास्थ्य मापदण्ड पुरा गरेर सञ्चालन गरिएको अखिल (क्रान्तिकारी) कास्की जिल्ला अध्यक्ष पुरन पुनले जानकारी दिए ।

रक्तदान कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज पुर्णजित पुन ‘उभार’, कास्की जिल्ला सेक्रेटरी गोकुल पराजुली ‘विश्वास’ र जनपत्रकार संगठन नेपालका सदस्य रमाकान्त बास्तोला, अखिल (क्रान्तिकारी) कास्की जिल्ला अध्यक्ष पुरन पुनलगायत नेता–कार्यकताको उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए ।