दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत लमही नगरको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । नेकपा दाङ जिल्लाको १० औं पूर्ण बैठकपछि नगरको प्रथम पूर्ण बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो ।
बैठकलाई सम्बोधन गर्दै दाङ जिल्ला सेक्रेटरी तथा बैठकका प्रमुख अतिथि प्रदीपले पार्टीले अघि सारेको नयाँ कार्यनितिक योजना जनमतसंग्रह मार्फत् वैज्ञानिक समाजवाद प्राप्तिको बारेमा स्पष्ट पारेका थिए । उनले संसदीय व्यवस्था चरम संकटमा पुगेको बताउँदै सबै देशभक्त, क्रान्तिकारी, कम्युनिस्ट, सच्चा लोकतन्त्रवादी शक्तिहरूबीचको सहकार्यको आवश्यकता रहेको उद्घोष गरे ।
एक फरक प्रसङ्गमा सेक्रेटरी प्रदीपले संसदीय व्यवस्था स्विकार गरेर वार्तामा आएको भनेर भ्रम सिर्जना गर्न प्रतिक्रियावादी तत्वहरु दिनरात लागिपरेको बताए । उनले भने, ‘हामिले विद्रोह संसदीय व्यवस्था विरुद्ध गरेका हौँ र यो व्यवस्थालाई ध्वस्त गरी छाड्छौँ ।
नेकपा लमही नगर इन्चार्ज जनकको सञ्चालन तथा अध्यक्षतामा भएको बैठकमा गढवा–राजपुर गाउपालिका इन्चार्ज सुरज, नेकपा दाङ जिल्ला सल्लाहकार समितिका सदस्य मधुसूदन गिरीको आतिथ्य रहेको थियो । नगरको प्रथम पूर्ण बैठकले २१ सदस्यीय नगर कमिटी चयन गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्