सहमति कार्यान्वयन हुनेमा विश्वस्त छौँ, नगरे जनताले दण्डित गर्छन् : प्रकाण्ड

सहमति कार्यान्वयन हुनेमा विश्वस्त छौँ, नगरे जनताले दण्डित गर्छन् : प्रकाण्ड

बुटवल । नेकपाले आफूहरूसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकारको पुन: ध्यानाकर्षण गराएको छ । आइतबार बिहान बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै सहमति कार्यान्वयन लागि ध्यानाकर्षण गराइएको पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए ।

प्रकाण्डका अनुसार प्रधानमन्त्री ओलीले पनि तीन बुँदे कार्यान्वयनमा आफू गम्भीर रहेको बताएका थिए । प्रधानमन्त्री ओलीलाई भेट्न प्रवक्ता प्रकाण्डसहित सचिवालय सदस्य धमेन्द्र बास्तोलासमेत बालुवाटार पुगेका थिए भने सरकारको तर्फबाट तत्कालीन वार्ता टोलीका संयोजक रामबहादुर थापा र प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सहभागी थिए ।

डेढ घण्टा भएको छलफलमा आफ्ना नेता कार्यकर्ता रिहा र मुद्दा फिर्ताको काम १० दिनभित्र टुंग्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको प्रकाण्डले जानकारी दिए । प्रकाण्डले भने– ‘हामीले १० दिनभित्र बन्दी कार्यकर्ता रिहाइ र मुद्दा फिर्ताक काम टुंग्याउनुपर्छ भनेका छौं’, प्रधानमन्त्री ओलीसँगको भेटपछि प्रवक्ता विश्वकर्माले भने, ‘हामीले सहमति कायान्वयनमा ढिलाइ भएको बारे अवगत गरायौँ । उहाँले गम्भीर नै छु भन्नु भयो । अब कडाईका साथ १० दिनमा सहमति कार्यान्वयनका लागि राजनीतिक र संवैधानिक पहल गर्न भनेका छौं । त्यसका लागि प्रधानमन्त्रीले आफू गम्भीर रहेको र पहल गर्ने जवाफ दिनु भएको छ ।’

उनले सरकार आफूहरूसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने विश्वस्त रहेको बताए । अन्यथा जनताले दण्डित गर्नेसमेत उनले चेतावनी दिए । ‘सरकारले सहमति कार्यान्वय गर्नेमा हामी विश्वस्त छौं,’ सहमति कार्यान्वयन भएन भने के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘हामी फेरि पनि विश्वस्त छौं । जहाँसम्म गरेन भने भन्ने प्रश्न छ, त्यसमा त गरेन भने जनताले दण्डित गर्छ नि त ।’

फरक प्रसङ्गमा उनले अहिलेका संसदवादी पार्टी ‘हड्डीको निम्ति कुकुरको लडाइँ’ गरिरहेको टिप्पणी गरे । उनीहरूको लडाइँमा आफूहरूलाई कुनै मतलब नभएको भन्दै उनले भने, ‘हड्डीको निम्ति कुकुरको लडाइँ भैरहेको छ संसदवादी दलहरू एमाले, कांग्रेस र माओवादीबीच । उहाँहरूको लडाइँमा हामी किन प्रवेश गर्ने ?’
गत वर्ष २१ फागुनमा नेकपाले सरकारसँग तीन बुँदे सहमति गरेको थियो । त्यसपछि सरकारले नेकपामाथिको प्रतिबन्ध फुकुवा गरे पनि अझै सय भन्दा बढी नेता कार्यकर्ता हिरासतमै छन् भने सयौ माथि लगाइएको मुद्दा समेत फिर्ता लिइएको छैन । 

नेता तथा कार्याकर्ताको रिहाइ र मुद्दा फिर्ताका लागि नेकपाले सरकारको पटकपटक ध्यानाकर्षण गराउँदै आएको छ । यसअघि पनि स्वयं महासचिव विप्लवले समेत प्रधानमन्त्री ओलीलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।