पारागन पब्लिक स्कुल प्रशासनलाई तत्काल कारबाही गर्न क्रान्तिकारीको माग

पारागन पब्लिक स्कुल प्रशासनलाई तत्काल कारबाही गर्न क्रान्तिकारीको माग

बुटवल । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले प्यारागन स्कुल प्रशासनले अभिभावक र संचारकर्मीमाथि दुर्व्यवहार गरेको भन्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सङ्गठनका काठमाडौँ जिल्ला अध्यक्ष गोविद बिष्टले मङ्गलबार विज्ञप्ति जारी गरी सोमबार भएको उक्त घटनाप्रति आपत्ति प्रकट गरेका छन् ।

अध्यक्ष बिष्टले देशभर कोरोना महामारीले आम नागरिकलाई हातमुख जोर्न समेत समस्या भैरहेको अवस्थामा विभिन्न शिर्षकमा शुल्क वृद्धि गरेको समयमा अभिभावकहरूले स्कुल प्रशासनसँग कुरा गर्न खोज्दा बेवास्ता गरेको र उल्टै गुण्डा प्रयोग गरेर आक्रमण गरेको भन्दै घटना निन्दनीय भएको बताएका छन् । 

त्यसैगरी अभिभावकमाथि गरिएको दुर्व्यवहारको समाचार सङ्कलन गर्न पुगेका पत्रकारहरूमाथि उक्त स्कुलको प्रशासनमा कार्यरत शाहिद उदिनले आक्रमण गरी क्यामारा, बुमलगायतका संचार उपकरण क्षति पु¥याएको घटनाले शैक्षिक माफियाहरूको चरित्र उदांगो भएको विज्ञप्तिमा उल्लेख छ ।

पारागनको गुण्डागर्दीलाई राज्य मुखदर्शक बनेको र शैक्षिक लुटेराहरूले लुटखसोटको साक्षी बसेको भन्दै उनले आफ्नो सङ्गठन आक्रोसित भएको बताएका छन् ।
विज्ञप्तिमा बिष्टले शिक्षामाथिको व्यापार बन्द गर्न र जनताका छोराछोरीलाई अनिवार्य निःशुल्क र वैज्ञानिक समाजवादी शिक्षा लागु गर्न माग गरेका छन् ।

जनताको सूचनामाथि प्रतिबन्ध लगाउन खोज्ने र अभिभावक तथा पत्रकारमाथि भौतिक आक्रमण गर्ने पारागन पब्लिक स्कुल प्रशासनलाई तत्काल कारबाही गर्न माग गर्दै अध्यक्ष बिष्टले सरकारले कारबाही नगरे आफूहरू सडकबाट कारबाही गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।