वन पैदावरका प्रतिनिधि, ठेकेदार र कर्मचारीले माफि नमागे नेकपाले जनकारबाही गर्ने 

काठको कारोबार तत्काल बन्द गर्न चेतावनी

वन पैदावरका प्रतिनिधि, ठेकेदार र कर्मचारीले माफि नमागे नेकपाले जनकारबाही गर्ने 

अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी सन्धिखर्क नगर कमिटीले वन पैदावरका प्रतिनिधि, ठेकेदार र कर्मचारीले जनताको सेवामा खटिएका आफ्नो पार्टीका नेता–कार्यकर्तालाई अभद्र व्यवहार गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

नेकपाका सन्धिखर्क नगर कमिटी इन्चार्ज बारुदले मङ्गलबार प्रेस विज्ञप्ति जारी गरी असार  २१ गते भूमिकास्थानदेखि पोखरा लैजादै  गरेको लु १ ख ७८२२ र लु १ ख ४३४१ नम्बरका २ वटा ट्रकमा ओभरलोड गरी काठ लैजादै गर्दा नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीका युवाहरूले नियन्त्रणमा लिएको बताएका छन् ।

युवाहरुले राती ८ बजे लैजादै गरेको काठ  शङ्का लागेर सोधपुछ  गर्दा  भूमिकास्थान र सन्धिखर्क नगरपालिकाका सव डिभिजन वन कार्यलय प्रमुख हरिबहादुर थापा, वन पैदावरका उपाध्यक्ष, सदस्य कर्मचारीहरुले जनताको सेवामा खटिएका आफ्नो पार्टीका नेता–कार्यकर्तालाई अभद्र व्यवहार गरेको बारुदद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनामा संलग्न वनपैदावरका प्रतिनिधि, ठेकेदार र कर्मचारीले हाम्रो पार्टीका कमरेडहरूसँग माफि नमागे पार्टीले जनकारबाही गर्ने चेतावनी दिन चाहन्छौँ । आजका मितिदेखि उक्त घटनामा संलग्नलाई छानबिन गरी कारबाही नगरेसम्म काठको कारोबार बन्द गर्न समेत चेतावनी दिन चाहन्छौँ ।’