महासचिव विप्लव र जसपा नेता महन्थ ठाकुरबीच भेटवार्ता

आगामी दिनमा सहकार्य गर्ने सहमति

महासचिव विप्लव र जसपा नेता महन्थ ठाकुरबीच भेटवार्ता

बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड र जनता समाजवादी पार्टी (जसपा) का नेता महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । 

शनिबार बिहान भएको सो भेटवार्तामा दुवै पार्टीले तत्कालिन केपी ओली नेतृत्वको सरकारसँग भएको सहमति कार्यान्वनका बिषयमा छलफल भएको बताइएको छ । केपी ओली नेतृत्वको सरकारसँग भएको सहमतिअनुसार दुवै पार्टीका नेता कार्ताहरुमाथि लगाइएको मुद्दा खारेज नभएको र बन्दीहरु रिहा नभएको स्थितिमा दुवै दलले संयुक्त रुपमा पहल गर्ने सहमति भएको छ । जसपाको उपस्थिति संसदमा समेत भएकाले केपी ओली नेतृत्वको सरकारसँग भएको सहमतिको स्वामित्व वर्तमान सरकारले पनि लिनुपर्ने र सरकारले सो सहमति कार्यान्वन नगरे संसदमा समेत आवाज उठाउने सहमति भएको बताइएको छ । यसैगरी सो भेटवार्तामा नेता कुर्सी र सत्ता केन्द्रीत भएकाले राष्ट्र र जनताको मुद्दा ओझेलमा परेको निष्कर्ष निकाल्दै मधेशी जनता पनि यसकै कारण प्रभावित हुन् पुगेको निष्कर्ष निकाल्दै आगामी दिनमा सहकार्य गर्ने सहमति समेत भएको बताइएको छ ।

भेटवार्तामा देशको राजनीति निकै जटिल मोडमा पुगेको निष्कर्ष निकाल्दै यसको अग्रगामी र दीर्घकालीन समाधानको लागि छलफललाई घनिभूत ढंगले अगाडी बढाउने सहमति समेत भएको बताइएको छ ।