Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
जनयुद्धकी महिला छापामार, जो अहिले घरबारविहीन छिन् - Janabato

जनयुद्धकी महिला छापामार, जो अहिले घरबारविहीन छिन्

घर निर्माणका लागि साढे ४ लाख रुपैया संकलन

जनयुद्धकी महिला छापामार, जो अहिले घरबारविहीन छिन्

माघ १० । हुम्ला घर बताउने उषा थापा केही दिनअघि घरबारविहीन अवस्थामा बर्दियामा भेटिइन्। हुम्ला दारमामा २०४४ सालमा जन्मेकी उषा थापा (एकता) २०५७ सालमा तत्कालीन माओवादी आन्दोलनको कलाकारमा भर्ना भइन्। केही समयपछि इस्क्याट, महिला पाल्टुन, हुँदै महिला छापामार बनिन्। विभिन्न युद्ध मोर्चाका लड्दै आफूले बन्दुक बोक्दै हिँडेको ताजा स्मरण छ उनमा। 

त्यसबेला चर्चित गणेशपुर भिडन्तको लडाइमा युद्ध मैदानमा युद्ध लडेकी उनी भाग्ने क्रममा भूगोलको अनविज्ञताका कारण भारत लागिन्। भारतबाट फर्कने क्रममा बर्दिया महम्मदपुरकै एक पुरुषसँग उनले विवाह गरिन्। तर केही दिनमै उनले घरका सबैबाट दुर्व्यवहार भोग्न बाध्य हुनुपर्‍यो। घरमा बस्न नसकी नेपालगञ्जतिर निजी कम्पनीमा जागिर खान पुगिन्। पछि पुन: दोस्रो विवाह गरी डेउढाकलामा बस्दै आइन्। 

बिचल्लीमा परेपछि कष्टकर भोगाइ

न घर, न बाँस। अत्यन्तै कष्टकर जीवन गुजारेकी उनलाई बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष दीपा कुमारी गौतम, ९ नम्बर वडा अध्यक्ष कान्छु थारू, कार्यपालिका सदस्य जितबहादुर सुनार, स्थानीय शिक्षक हितराज सुवेदीसहितको पहलमा वडा नम्बर–९ टेसनपुरको पर्ती जग्गामा अहिलेलाई अस्थायी बासको व्यवस्थापन गरिएको छ। 

कुनै रोजगारी नभएको र ज्यालामजदुरी गरी दिन गुजारिरहेको उनी बताउँछिन्। उनका चार सन्तान छन्। सबै चिसो भुइँमा सुत्छन्। केही दाता र सहयोगीका भरमा सानो झुप्रो बनाए पनि बस्ने खाट, ओछ्याउन अनि कपडा, खाद्यान्न सबै अभाव भइरहेको उनले दु:ख पोखिन्। 

आफूले जनयुद्धकालमा विभिन्न कमाण्डर र नेतासँगै काम गरे पनि आज आफ्नो यस्तो अवस्था हुँदा कसैले सहयोग नगरेको गुनासो गरिन्। १४ वर्षको कलिलो उमेरमै उनले घर छाडेकी थिइन्। अहिलेसम्म आफ्नो माइती गाउँ हुम्ला पुग्न सकेकी छैनन् उषा।

​घर निर्माणका लागि साढे ४ लाख रुपैया संकलन

अलपत्र बनिरहेकी उनको घर निर्माणका लागि विभिन्न क्षेत्रबाट सहयोगी हात बढेका छन्। घरबारविहीन अवस्थामा बालबच्चासहित उनी फेला परेपछि सिटिजन बैंकका म्यानेजर दिनेश ढुंगानाले आफैं उनको टहरामा पुगेर बैंक खाता खोलिदिएका थिए। 

अहिले उनको नाममा बैंक खातामा ४ लाख ५५ हजार रुपैयाँ रकम जम्मा भएको छ। उषा थापाको घर बनाउने अभियान माघ ७ गतेबाट औपचारिक रुपमा सुरु गरिएको बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजुर्न सुवेदीले जानकारी दिए। 

घर निर्माणका लागि बढैयाताल गाउँपालिकाले जग्गाको व्यवस्थापन गरेको र आवास योजनाबाट ५० हजार रुपैयाँजस्ता पाता खरिदका लागि सहयोग गर्ने उनले बताए। 

उनका सबै बालबच्चालाई उच्च शिक्षासम्म नि:शुल्क पठनपाठनको जिम्मा बर्दियाको मधुवन नगरपालिका नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णचन्द्र पोखरेलले लिएको यसअघि नै बताइसकेका छन्। 

उषाको घर निर्माण अभियानमा पछिल्लो समय भने केही दाताहरूले सहयोग गरिरहेका छन्।

थाहाखबर/विमला ढकाल