राष्ट्रियता र जनतन्त्रका लागि संयुक्त सङ्घर्ष

राष्ट्रियता, जनतन्त्रमा र जनजीविकामा ठूलो संकट

राष्ट्रियता र जनतन्त्रका लागि संयुक्त सङ्घर्ष

 नेपालमा कथित अयोध्यापुरीको नाममा त्यस्तै राम मन्दिर निर्माणका लागि वचन दिदै हिँडिरहेका छन् । यो सब भारतीय शासक खासगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालमा कथित हिन्दुराज्य र राजतन्त्रको माग गर्दै हिँड्ने पुराना पञ्च मण्डले र राजावादीहरुलाई रिझाउने प्रपञ्च मात्र हो ।

राज्यका तीन प्रमुख अङ्गहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीच आपसी एकता र समन्वय अर्थात् चेक एण्ड ब्यालेन्स हुन्छ । यसलाई संसदीय राज्य व्यवस्थामा शक्ति पृथकीकरणको सिद्धान्त भन्ने गरिन्छ । यसको मतलब हो, जसले पनि आफू खुशी जे मनलाई गर्ने अधिकार राज्यले यिनीहरूलाई कसैलाई दिँदैन । यी सबैको आ–आफ्नै काम कर्तव्य र अधिकार संविधान स्पष्ट उल्लेख गरिएको हुन्छ । त्यस अनुसार  नभए यसको अन्तिम फैसला सर्वोच्च अदालतले गर्दछ । यसको पनि आफ्नै विधी र प्रक्रिया छ । यी मध्ये प्रत्यक्ष जनअनुमोदित संस्था व्यवस्थापिका सदन नै हो । जसको दुई तिहाई बहुमतले राज्यको सबैभन्दा उपल्लो निकायका राष्ट्रपतिलाई समेत महाअभियोग लगाई बर्खास्त गर्न सक्छ । त्यस्तै महाअभियोग लगाई सर्वोच्च अदालतका न्यायाधीशहरुलाई पनि । सरकार प्रमुख अर्थात् प्रधानमन्त्रीलाई त यसको सामान्य बहुमतले समेत कारबाही गरी हटाउन सक्छ । त्यही भएर आज नेपालमा प्रतिनिधिसभाको विघटन गराइएको छ । खाली देशमा अहिले कार्यपालिका र न्यायपालिका मात्र क्रियाशील छन् । कार्यपालिका अर्थात् प्रधानमन्त्री समेत कामचलाउ मात्रैमा सीमित छन् । प्रधानमन्त्रीकै सिफारिसमा अहिले प्रतिनिधिसभाको भङ्ग गराई त्यसबाट हुनुपर्ने सबै काम प्रधानमन्त्री आफैंले एकलै गर्न थालेका छन् । यो शक्ति पृथकीकरण विरोधी निरंकुशतन्त्रको उपज हो ।

कार्यपालिकाको पाँचवर्षे कार्यअवधि रहने संवैधानिक व्यवस्थालाई चुनौती दिँदै प्रधानमन्त्री ओलीले अर्को मध्यवर्ती चुनावको घोषणा गर्न पुगेका छन् । यसमा अचम्म के छ भने जुन दलले सिफारिस गरी उनलाई प्रधानमन्त्री बनायो, त्यही दल नेताहरुलाई कुनै थाहा नदिई एकाएक प्रतिनिधि सभाको भङ्ग गर्न पुगेका छन् । त्यस्तै न उनले प्रतिनिधि सभाका अरु सभासदहरुलाई समेत जानकारी गराई उनले यो गरेका छन् । यो जुन थालमा खायो त्यही थालमा चुट्ने र थुक्ने मात्र नभई त्यसैमा उल्टी नै गरी त्यसलाई दुर्गन्धित गर्ने काम प्रधानमन्त्रीबाट भएको छ । यसमा उनलाई बनको बाघले खाओस् नखाओस आफ्नै मनको बाघले खाई छटपटिएर यो सब गरिरहेका छन् । प्रतिनिधिसभामा आफूविरुद्ध आफ्नै दलका नेताहरुले अविश्वासको प्रस्ताव ल्याई आफु प्रधानमन्त्री हटाइने डर त्रासकै कारण यो भएको छ । यतिसम्मको उनले यस्तै महाभियोगको प्रस्ताव राष्ट्रपति र सर्वोच्चका प्रधानन्यायाधीश माथि पनि आउने त्रास उनीहरुलाई पनि देखाउन पुगेका छन् । त्यही भएर उनी यसमा ढुक्क भई अब कुनै पनि हालतमा प्रतिनिधि सभाको पुनस्र्थापना हुनै सक्दैन भन्दै हिँडिरहेका छन् ।

एउटा वस्तुमा जस्तै हरेक दल संगठनमा पनि अन्तरविरोध हुन्छ । आफ्नै पार्टीभित्रका त्यस्ता केही अन्तरविरोधलाई पचाउन नसकी प्रधानमन्त्री यो स्थितिमा पुग्नु यो उनको हीनताबोधको पराकाष्टा हो । उनी प्रधानमन्त्री मात्र नभई दलका अध्यक्ष पनि हुन् । त्यसकारण आफ्नै पार्टीभित्रका त्यस्ता असन्तुष्टिहरुलाई समाधान नगरी एकाएक व्यवस्थापिका सदनको नै भङ्ग गर्नु यो उनको अलोकतान्त्रिक चरित्र हो । पार्टीमा आफू कुनै कारण अल्पमत  परेपनि संसदीय दलका नेताको हैसियतले त्यसमा बहुमत सिद्ध गरी आफैंले प्रतिनिधि सभाको बैठक बोलाई त्यसमा समेत बहुमत सिद्ध गराइनु पर्दथ्यो । तर यो सब केही नगरी एकाएक यो प्रतिनिधि सभाको भङ्ग गर्नुले उनी आज अत्यन्त विवादित बनेका छन् । हिजो उनको त्यो कथित राष्ट्रिय छवि आज एकदमै उदांगिएको छ । उनको वास्तविक नक्कली राष्ट्रवादको पर्दाफास भएको छ । पुनः देशी तथा विदेशी शक्तिकेन्द्रको अगाडी लम्पसार भई आत्मसमर्पण गर्न पुगेका छन् । त्यही भएर उनले आफ्ना ती देशी तथा विदेशी प्रतिक्रियावादी तत्वहरुलाई राजी खुशी पार्न अनेक थरिका नाटक मन्थन गर्न थालिरहेका छन् । कोही नभएको जात्रा हाँडीगाउँमा भनेजस्तै प्रम ओली अहिले पशुपतिनाथको दर्शन गर्न गई त्यहाँ ठूलै सरकारी धनराशीको भेटी चढाउन पुगेका छन् । नेपालमा कथित अयोध्यापुरीको नाममा त्यस्तै राम मन्दिर निर्माणका लागि वचन दिदै हिँडिरहेका छन् । यो सब भारतीय शासक खासगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालमा कथित हिन्दुराज्य र राजतन्त्रको माग गर्दै हिँड्ने पुराना पञ्च मण्डले र राजावादीहरुलाई रिझाउने प्रपञ्च मात्र हो ।

आज दिनप्रतिदिन प्रधानमन्त्री ओली प्रतिगमनको दिशामा एकदमै अग्रसर भइरहेका छन् । आफु मरे भूतै राजा भन्ने उनको सोँच बढ्दैछ । अब कुनै दिन नेपालमा संकटकाल लगाउने तरखरमा उनी छन् । यसका लागि भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको पनि आडभरोसा उनलाई छ । यो नेपाललाई अफगानिस्तान बनाउने रणनीतिअन्तर्गत अघि बढिरहेको छ । अहिले देखिएको संसद विघटन की पुनस्र्थापना यसैको उपज हो । कुनै कारण संसदको पुनस्र्थापना भएपनि अब देशमा शान्ति र अस्थिरता हुने स्थिति देखिँदैन । त्यसैले अब देशको राष्ट्रियता, जनतन्त्रमा र जनजीविकामा ठूलो संकट देखिदैछ । यसका लागि एउटै मात्र विकल्प छ–त्यो हो संयुक्त राष्ट्रिय जनआन्दोलन र जनसंघर्ष ।