अखिल (क्रान्तिकारी) अर्घाखाँचीको भित्तेपात्रो विमोचन

अर्घाखाँची । नेकपा निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीले शुक्रबार एक कार्यक्रम आयोजना गरी सन्धिखर्कमा भित्तेपात्रो  विमोचन गरेको छ । सङ्गठनले २०७८ सालको भित्तेपात्रो विमोचन गरेको हो ।

कार्यक्रममा नेकपा जिल्ला सचिव तथा कार्यक्रमका प्रमुख अतिथि खेम घर्तीले सङ्गठनले भित्तेपात्रो प्रकाशन गरेकोमा धन्यवाद दिए । उनले सरकारले जनतालाई भेडाबाख्रालाई जस्तै खोरमा थुनेर सत्ताको खेलमा देशनै बेच्न आँटेको बताए । उनले वर्तमान दलाल सरकारले विभिन्न बहाना गर्दै नदी, खोलानाला, गिट्टी, बालुवा, काठलगायत प्राकृति स्रोत र साधन भारतलाई बिक्री गर्ने निर्णय गरेर राष्ट्रघाती काम गरेको बताए । एमसीसी पास गर्नको निम्ती अहिले सरकारले टिभी, पत्रिका, रेडियोमा प्रचार प्रसार गरिरहेको र यसो गर्दै जाने हो भने यो दलाल पुँजीवादी सरकारले नेपाललाई सिक्किमीकरण गर्ने धारणा उनले व्यक्त गरेका थिए । 

सङ्गठनका जिल्ला इन्चार्ज नवीन खड्काले आफ्नो सङ्गठनले अग्रपङ्तीमा रहेर मुलुकको थुप्रै विकृति र विसङ्गतिविरुद्ध आन्दोलन गर्दै आइरहेको बताए । उनले शैक्षिक दलाल र माफियाहरूले लकडाउनको समयमा पनि शुल्क उठाएको पाइएकाले त्यसको प्रतिरोध गर्ने चेतावनी समेत दिएका थिए ।  

भित्तेपात्रो विमोचन कार्यक्रमको अध्यक्षता अखिल (क्रान्तिकारी) अर्घाखाँची जिल्ला अध्यक्ष बाबुराम एसकेले गरेका थिए ।