नेकपा गढवा–राजपुर गाउँपालिकाको बैठक सम्पन्न

२९ सदस्यीय गाउँ कमिटी चयन

नेकपा गढवा–राजपुर गाउँपालिकाको बैठक सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत गढवा–राजपुर  गाउँपालिकाको प्रथम पूर्ण बैठक सोमबार सम्पन्न भएको छ । नेकपा दाङ जिल्लाको १० औं पूर्ण बैठक पछिको गाउँपालिकाको  प्रथम पूर्ण बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो ।

प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदीपले पार्टी जनतासँग जोडिएर उत्पादन, निर्माण र श्रमदानमा जुटिरहेको बताए । पार्टीले शान्तिपूर्ण कार्यक्रम र जनमतसंग्रह मार्फत वैज्ञानिक समाजवाद प्राप्त गर्ने अभियानमा दृढ रहेको उद्घोष गरे । केही समूहलाई ३ बुँदे सहमति पाचन हुन नसकेको सेक्रेटरी प्रदीपको भनाई थियो । एक फरक प्रसङ्गमा सेक्रेटरी प्रदीपले भने, ‘हामी शान्तिपूर्ण कार्यक्रममा आउँदा हतियार सोध्नेहरु परिवर्तन विरोधी, क्रान्ति विरोधी तत्व हुन ।’

बैठकमा मन्तव्य राख्दै लमही नगर सेक्रेटरी जनकले पार्टी जनतामा लोकप्रिय बन्दै गएको बताए । असफल संसदीय व्यवस्थाका विरुद्ध देशभक्त, प्रगतिशिल, कम्युनिस्ट, सच्चा लोकतन्त्रवादीहरु एकजुट हुन उनले अपिल गरे ।

गढवा–राजपुर गाउँपालिका इन्चार्ज÷सेक्रेटरी सुरजको  अध्यक्षता तथा संचालनमा भएको बैठकले २९ सदस्यीय गाउँ कमिटी चयन गरेको छ ।