कञ्चनपुरमा महँगी र कालोबजारी विरुद्ध प्रदर्शन 

गणेश एसके । कञ्चनपुर । अखिल (क्रान्तिकारी) ले महँगी र कालोबजारी विरुद्ध कञ्चनपुरको दैजीमा विरोध प्रदर्शन गरेको छ । मङ्गलबार अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको कार्यक्रम अन्तर्गत जनतालाई असहज हुने गरी दैनिक उपभोग्य वस्तुहरूमा गरिएको मूल्यवृद्धि र विविध विकृतिका विरुद्धमा क्रान्तिकारीले प्रदर्शन गरेको हो । 

कार्यक्रममा अखिल (क्रान्तिकारी) का सेती महाकाली ब्युरो संयोजक वीरेन्द्र शाहले सरकारले देशमा गरिब, किसान, मजदुर र श्रमजीवी वर्गको हित विपरीत दैनिक उपभोग्य वस्तुहरूमा मूल्यवृद्धि गरेको भन्दै दुख व्यक्त गरे । उनले गरिब उत्पीडित वर्गको जनजीविका, जनतन्त्रलाई सरकारले सहज गर्नुको सट्टा झन् सास्ती भोग्नु पर्ने अवस्था ल्याएको बताए । उनले यी सबै दलाल संसदीय व्यवस्थाको उपज भएको बताए । 

शाहले करोडौं रुपैयाँ खर्चेर गर्ने चुनाव खारेज गरि तत्काल प्रगतिशील संयुक्त सरकार गठन गरी जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिन जोडदार माग गरे । 

उनले खाने तेल, पेट्रोलियम पदार्थ लागायत अत्यावश्यक वस्तुमा जनताको ढाड सेक्ने गरी गरिएको मूल्यवृद्धी तत्काल खारेज गर्न आग्रह गरे । शाहले मूल्यवृद्धि खारेज नगरे  किसानहरुलाई मल, बिउको सहज आपूर्ति नगरे आफूहरु देशव्यापी कडा संघर्ष गर्न बाध्य हुने चेतावनी दिए । 

विरोध प्रदर्शन कार्यक्रममा अखिल (क्रान्तिकारी) कञ्चनपुरका अध्यक्ष ललित एसके लगायत जिल्लाका सबै सदस्य सहभागी थिए ।