घरेलु तथा साना उद्योग समृद्धिको आधार : खड्का 

घरेलु तथा साना उद्योग समृद्धिको आधार

घरेलु तथा साना उद्योग समृद्धिको आधार : खड्का 

राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्वलले घरेलु तथा साना उद्योग समृद्धिको आधार भएको बताउनुभएको छ । अर्घाखाँची चप्पल उद्योगको सन्धिखर्क नगरपालिका वडा नं १२ भद्राचौरमा उद्घाटन गर्दै उहाँले व्यवसायिक सोचको विकासको कार्यान्वयन स–साना उद्योग धन्दाबाट सुरु हुने बताउनुभयो । नेपाल कम्युनिष्ट पाटी (नेकपा)का नेता समेत रहनुभएका खड्काले आत्मनिर्भरतालाई बढाउन स–साना उद्योग घरेलु उद्योगको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले अन्य युवाहरुले समेत फरक खालका व्यवसाय कम लगानीमै सञ्चालन गर्ने अभियान चलाउनुपर्नेमा जोड समेत दिनुभयो ।

लुम्बिनी प्रदेश सभा सदस्य चेतनारायण आचार्यले अर्घाखाँची चप्पल उद्योगको स्थापनाबाट सिंगो नगरपालिका र जिल्लामा नयाँ आयाम थपिएको बताउनुभयो । नेकपा ( नेकपा) जिल्ला कमिटि अध्यक्ष समेत रहनुभएका नेता आचार्यले आर्थिक क्रान्तिका माध्यमबाट मुलुकको सम्बृद्धि हुने बताउनुभयो । उहाँले युवाहरु स्वरोजगार हुँदै अन्य युवालाई समेत रोजगारी दिने खालका अभियानले प्राथमिकता पाएकोले राज्यको तर्फबाट साथ सहयोगका लागि बिशेष कदम चालिने विश्वास दिलाउनुभयो ।
 

सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसालले सन्धिखर्क नगरपालिका भित्र नयाँ व्यवसायको सुरुवात भएको भन्दै सञ्चालक प्रकाश श्रेष्ठलाई धन्यबाद दिनुभयो । नगरप्रमुख भुसालले सन्धिखर्क नगरपालिकाले नगरको छुट्टै औद्योगिक ग्राम निर्माणको तयारीमा रहेको भन्दै नगरभित्रका उद्योगहरु सोही ठाउमा राखिने बताउनुभयो ।
 नगर उप प्रमुख ठाकुर कुमार बिक किशोरले सबै युवाहरुलाई आत्मनिर्भर र स्वरोजगार बन्न आग्रह गर्दै नगरभित्र स्थापना भएको उद्योगलाई नगरपालिकाले प्राथमिकताका साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
 

सन्धिखर्क नगरपालिका वडा नं ११ का वडाध्यक्ष धुर्वराज आचार्यले उद्योगको स्थापना भएसँगै युवाहरुलाई कम लगानीमा पनि स्वरोजगारीका अवशर श्रृजना गर्न सकिन्छ भन्ने सन्देश प्रवाह भएको बताउनुभयो । 

उद्घाटन समारोहमा समाजसेवी रामबहादुर बि.क, लोकहरी श्रेष्ठ, सूर्योदय बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जिवलाल श्रेष्ठ, राष्ट्रिय युवा परिषदका जिल्ला अध्यक्ष लिलबहादुर बि.क, पत्रकार मधुकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य बसन्त श्रेष्ठ,  लगायतले उद्योगको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । 
 

आफुसँगै अन्य युवाहरुलाई पनि आत्मनिर्भर बनाउन व्यवसाय सञ्चालन गरेको सञ्चालक युवा व्यवसायी प्रकाश श्रष्ठले बताउनुभयो । भण्डै ४ लाखको लगानीमा सञ्चालन गरिएको उक्त उद्योगमा दैनिक ३ जना जनशक्तिबाट २ सय थानसम्म चप्पल उत्पादन गर्न सकिने श्रेष्ठले जानकारी दिनुभयो