माघ २९, बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार पार्टीले आज संयुक्त मोर्चा घोषणा गरेका छन् । आज राजधानीको प्रज्ञा भवनमा उनीहरूले रणनीतिक मोर्चा घोषणा गरेका हुन् ।
उक्त रणनीतिक मोर्चाको घोषणालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी) माओवादीको अध्यक्ष मोहन वैद्यले कमरेड विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध तुरुन्त हटाउन माग गरेका छन् । सम्बोधनको क्रममा वैद्यले जेल र हिरासतमा रहेका नेकपाका सम्पूर्ण बन्दीहरूलाई रिहा गरी उनीहरूको मुद्धा क्रान्तिको मुद्धा भएका कारण सम्पूर्ण मुद्धाहरूलाई खारेजी गर्न समेत सरकारलाई चेतावनी दिएका थिए । अन्यथा दलाल सत्ता र राज्यव्यवस्था विरुद्ध यो संयुक्त रणनीतिक मोर्चाले थप कडा संर्घष गर्ने र त्यहीँ अनुरुप संघर्षका कार्यक्रमहरू सार्वजनिक गर्ने बताएका थिए ।
मोर्चामा विप्लव नेतृत्वको पार्टीसहित मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी सहभागी छन् । उनीहरुले समाजवाद जनगणतन्त्र स्थापना गर्ने उद्देयका साथ रणनैतिक मोर्चा बनाएको विषय उल्लेख गर्दै संयुक्त हस्ताक्षर गरेका छन् ।
रणनीतिक मोर्चाबाट केन्द्र देखि स्थानीय तहसम्म संगठन पुनः संरचना गर्ने तयारी गरिएको छ । रणनैतिक मोर्चा गठन गरेर अगाडी बढ्नुलाई महत्वका साथ लिइएको छ ।
यसअघि १४ पौषमा प्रेस ज्ञिप्तिमार्फत् विप्लव र वैद्यसहित चारवटा कम्युनिस्ट संगठनका प्रमुखहरुले संयुक्त मोर्चा निर्माण गर्ने सहमतिबारे उल्लेख गरेका थिए । संयुक्त मोर्चामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतीले हस्ताक्षर गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्