फागुन ४, बुटवल । मानव बेचबिखन विरुद्धको अभियानमा निजी क्षेत्रको भूमिका खोजि भएको छ । मानव बेचबिखन विरुद्ध नेपाली निजी क्षेत्र (एन.बि.आई.) र बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको सहकार्यमा सोमबार बुटवलमा उद्योगी व्यवसायीलाई अभिमुखिकरण तथा उनीहरुसंग अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ ।
दश वर्षे लामो ससस्त्र द्वन्द्वमा सबैभन्दा बढी मार निजी क्षेत्रले भोग्नु परेको तथा त्यसकै कारण मानव बेचबिखन समेत बढ्दै गएकोले एन.बि.आई.को संयोजनमा हाम्रो सम्मान परियोजना सञ्चालन गरिएको एन.बि.आई.का लुम्बिनी प्रदेश इञ्चार्ज सरोज पाण्डेले बताउनुभएको थियो ।
युएसएआईडी र युकेएआईडीको आर्थिक सहयोगमा विनरक इन्टरनेशनलले पञ्चवर्षीय हाम्रो सम्मान परियोजना २०१७ देखि सुरु गरिएको थियो भने यसले बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा काम गरिरहेको छ । मानव बेचबिखन रोकथाम, संरक्षण, अभियोजन र साझेदारी मार्फत नेपालमा मानव बेचबिखन न्यूनिकरण गर्ने लक्ष्य लिइएको उहाँले जानकारी गराउनुभएको थियो । मानव बेचबिखन पिडित तथा जोखिममा परेकालाई आवश्यक सेवा प्रवाहित गर्न निजी क्षेत्रलाई अभिमुखिकरण गर्नुका साथै प्रतिवद्धता समेत खोजिएको उहाँले बताउनुभएको थियो ।
कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले मावन बेचबिखन जघन्य अपराध भएकोले पिडित तथा जोखिममा परेका व्यक्तिहरुको उद्धारको लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । उनीहरुलाई समाजमा पुनःस्थापित गर्नको लागि स्वास्थ्योपचार, रोजगारी तथा सामाजिक उत्तरदायित्व कोषबाट आर्थिक सहायता उपलब्ध गराउन सकिने बिचार व्यक्त गर्नुभयो ।
रुपन्देही जिल्ला बार एशोसियशनका अध्यक्ष अभिवक्ता लोकनाथ पन्थले पहिले यौनजन्य क्रियाकलापका लागि बेचबिखनमा परेकालाई मात्रै मानव बेचबिखन भनीए पनि अहिले कानुनले नै बाध्यात्मक श्रम, यौन शोषण, संरचनागत बाध्यात्मक श्रम शोषणलाई मानव बेचबिखनको परिभाषा गरेको बताउँदै यसका पिडित तथा जोखिममा परेका व्यक्तिको उद्धार तथा पुनःस्थापनाको लागि निजी क्षेत्रले रोजगारी, औषधोपचार, कानुनी सहायता, आश्रीत बालबालिकालाई शैक्षिक छात्रबृत्ति, उचित बासस्थान, सीपमुलक तालिम तथा आर्थिक सहयोग गर्न सक्ने बताउनुभयो ।
त्यस्तैगरी मानव बेचबिखन रोकथामको लागि निजी क्षेत्रले नीजिमा संलग्न गर्ने, आफ्ना कर्मचारीलाई अभिमूखिकरण, अनुगमन समिति व्यबस्थापन, सामुदायिक जागरण लगायतका काम गर्न सक्ने उहाँको भनाई छ ।
त्यस अवसरमा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका सल्लाहकारहरु पूर्व अध्यक्ष अर्जुनमान सैंजु, निर्मलप्रसाद लाकौल, बिटिआईका कार्यकारी निर्देशक पिएल श्रेष्ठ, तिनाउ मिसन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिपकुमार श्रेष्ठ लगायतले अवधारणा राम्रो र समाज उत्थानको लागि अति आवश्यक रहेको भनाई राख्नुभएको थियो । कार्यक्रम बुटवल उद्योग बाणिज्य संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीको सञ्चालनमा भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्