समरका यात्रीहरू

खोज फेरि ती हिजोसँगै हिँड्ने  समरका यात्रीहरू हातदेऊ र माथि उठाऊ अनि सबैलाई जोड्दै जाऊ

समरका यात्रीहरू

–श्रीराम स्वरुप                  

क्रान्तिमा पाइला चाल्ने योद्वाहरू
जनमुक्तिका सिपाहीहरू
जनताका आवाज बोल्नेहरू
विद्रोहको लप्का उठाउनेहरू

सोँच त एकफेर कति कष्टकर छ
त्यो जिन्दगी जब तिमी त्यो यात्राबाट
अलग्गै भइदिन्छौ 
आफुसँगैका समरका ती यात्रीलाई बीचमै
छोडेर जब व्यक्तिगत समस्यामा रोकिन्छौ

जिएर नि जिएजस्तो हुनेछैन जिन्दगी
मरेर नि कतै कोरिने छैन त्यो इतिहास
बरु गुञ्जेला आवाज एउटा कायर म¥यो
कष्टपूर्ण जिउँदो लास बनेर जिउनु पर्नेछ
जब कि तिमी हिजो त्यही जङ्गलको बीचबाट 
सिंह बनेर गर्जिने गथ्र्यौं

हिजो तिम्रो नाम सुन्दा तर्सिनेहरू
भोली त्यो तिम्रो आवाजलाई टेर्ने छैनन्
उल्टै इतिहासका चिहानहरू खोतल्दै
तिम्रो मजाक उडाइरहने छन्

भोली लत्रिनु पर्नेछ तिनै पुँजीपतिका इशाराहरूमा
झुकाउँदै ती शीरहरू
हिजो बन्दुक समाउन तयार ती हातहरू
जोडिनु पर्नेछ वर्ग वैरी सामु

त्यसैले वर्गसङ्घर्षलाई उठाउनेहरू
खोज फेरि ती हिजोसँगै हिँड्ने 
समरका यात्रीहरू
हातदेऊ र माथि उठाऊ
अनि सबैलाई जोड्दै जाऊ 

र लेख ती पत्थर, पहरा, चट्टानहरूमा
झुपडी ती वस्तीहरूले गर्व गर्न सक्ने गरी
रातो अक्षरमा एकीकृत जनक्रान्ति ।

स्रोतः लालदिशा