‘सहिदका सपना पूरा गर्न फेरि सहिद बन्न तयार छौँ’ : आक्रोश 

महान सहिद शिवाजी तिवारी ‘बरुण’को स्मृति सभा सम्पन्न

‘सहिदका सपना पूरा गर्न फेरि सहिद बन्न तयार छौँ’ : आक्रोश 

लमजुङ । नेपाल कम्युनिस्ट पार्टी लमजुङले महान सहिद शिवाजी तिवारी ‘बरुण’को स्मृति सभा सम्पन्न गरेको छ । नेकपा लमजुङले १० बर्षिय जनयुद्धको क्रममा पार्टीको संगठन विस्तार गर्ने क्रममा शाही नेपालि सेनाको घेरामा परी २०५९ साल बैशाख २१ गते कै दिन लमजुङ जिल्लाको तार्कुघाटमा सहादत प्राप्त गरेका सहिद शिवजी तिवारीको स्मृति सभा सम्पन्न गरेको हो । 

कार्यक्रममा नेकपा लमजुङ जिल्ला इन्चार्ज आक्रोशले हिजो राजतन्त्रात्मक संसदीय व्यवस्थाका विरुद्ध लड्दै गर्दा तिवारीले सहादत प्राप्त गरेकोे तर त्यही संसदीय व्यावस्थाले झन् उग्र र विकराल रुप लिन पुगेको बताए । उनले यसका विरुद्ध भीषण जनयुद्धको नेतृत्व गरेका प्रचण्ड बाबुरामहरु नै संसदीय व्यवस्थाको गोलचक्रमा शरण लिन पुगेको र अहिले छिया छिया अवस्थामा रहेको बताए । तर विप्लव नेतृत्वको नेकपा फेरि पनि निरन्तर क्रान्ति र सहिदहरुले देखाएको सुन्दर क्रान्तिको बाटोमा अविराम रुपमा लागिपरेको  बताए । उनले सहिदहरुले देखेको नयाँ समाजको निर्माणको सपना एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवादबाट पूरा गर्ने बताए । उनले भने, ‘हामी दावाका साथ भन्न चाहन्छौ कि यदि सहिदका सपनामाथि कसैले लात हान्न खोज्छ भने या सहिदको त्याग तपस्या र बलिदानलाई बेवास्ता गर्छ भने फेरि पनि हतियार उठाउन पछि नहट्ने स्मरण गराउन चाहन्छु ।’

स्मृति सभामा सहिद शिवाजी तिवारीका जेष्ठ छोरा गणेश बाबू तिवारी, जेष्ठ बुहारी सोभा तिवारी, माइला छोरा कुमार तिवारी, नेकपाका लमजुङ जिल्ला इन्चार्ज जंगबहादुर भण्डारी ‘आक्रोश’, सेक्रेटरी गौरव, अखिल (क्रान्तिकारी) लमजुङ जिल्ला अध्यक्ष राजन साउद, पार्टीका जिल्ला स्तरीय नेता टेक तारा बोहोरा, मोहन बोहोरा, खिम भण्डारी लगायत स्थानीय शिक्षक, बुद्धिजीवी, समाजसेवीहरुको सहभागीता रहेको बताइएको छ ।  

सहभागी सबैले सालिकमा खाडा, फुलमाला, अविर लगाएर सम्मान गरेका थिए भने अखिल (क्रान्तिकारी) लमजुङ जिल्ला अध्यक्ष राजन साउद्ले उक्त स्मृति सभाको संचालन गरेका थिए ।