अखिल (क्रान्तिकारी) रूपन्देहीद्वारा सहिदहरूको सम्झनामा रक्तदान

विद्यार्थी नेता प्रज्वल शाही लगायत एकिकृत जनक्रान्तिका महान सहिदहरूको सम्झनामा

अखिल (क्रान्तिकारी) रूपन्देहीद्वारा सहिदहरूको सम्झनामा रक्तदान

बुटवल । नेपाल कम्युनिस्ट  पार्टी निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति, रूपन्देहीले बुधबार बुटवलमा रक्तदान कार्यक्रम गरेको छ ।

विद्यार्थी नेता प्रज्वल शाही लगायत एकिकृत जनक्रान्तिका महान सहिदहरूको सम्झनामा उक्त कार्यक्रम आयोजना गरिएको संगठनकी रूपन्देही जिल्ला इन्चार्ज रूपा बुढा मगरले बताए । उनले आगामी दिनमा पनि जनताको बीचमै रहेर अगाडी बढ्ने बताए ।

संगठनका तत्कालिन केन्द्रीय सदस्य प्रज्वल शाहीको आजकै दिन २०७६ जेठ १२ गते सहादत भएको थियो ।

रक्तदान कार्यक्रममा नेकपा रूपन्देही जिल्ला सेक्रेटरी विश्वास, अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र विक, संगठनकी रूपन्देही जिल्ला इन्चार्ज रूपा बुढा मगर, संगठनकी जिल्ला अध्यक्ष इन्दु ओली, जिल्ला उपाध्यक्ष पारस राहादी मगर लगायत थुप्रै विद्यार्थी नेता–कार्यकर्ताको सहभागिता रहेको थियो ।

कोरोना महामारीको कठिन परिस्थितीकाबीच आयोजना गरिएको रक्तदान कार्यक्रमको उच्च प्रशंसा गर्दै ब्लड बैंक, बुटवलले आगामी सिर्जनात्मक तथा रचानात्मक कार्यक्रमको लागि शुभकामनासहित संगठनप्रति धन्यवाद व्यक्त गरेको थियो ।

उक्त रक्तदान कार्यक्रमलाई निरन्तरता दिने र जो कसैलाई पनि रगतको आवश्यकता परे संगठनका जिम्मेवार व्यक्तिहरूलाई सम्पर्क गर्न सकिने समेत संगठनले बताएको छ ।

संगठनले ‘कोभिड–१९ विरुद्धको विद्यार्थी अभियान’ अन्तर्गत निरन्तर जिल्लाव्यापी रूपमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गर्दै आइरहेको छ ।