बुटवल । नेकपा निकट विभिन्न जनवर्गीय सङ्गठनले समसामयिक विषयमा प्रेस विज्ञप्ति जारी गरेका छन् । नेकपाका विभिन्न १२ वटा जनवर्गीय सङ्गठनले जारी गरेको विज्ञप्तिमा नेपाली भूमिमा निर्माण गर्न लागेको कथित ‘कैलाश मानसरोवर रोड’ को निर्माण कार्य तत्काल बन्द गर्न माग गरिएको छ । यस्तै सम्पूर्ण नागरिकहरूलाई सर्वसुलभ रुपमा कोरोनाको खोप उपलब्ध गराउन, बिरामीको निःशुल्क उपचार गर्न, कोरोना प्रभावितहरूलाई राहत र उद्धार गर्न माग गरिएको छ ।
यस्तै विज्ञप्तिमा मनसुन सुरु भएपछि देशका विभिन्न भागमा जस्तै: सिन्धुपाल्चोक, मुस्ताङ, चितवन, नवलपरासीमा गएको बाढी पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते भएकाहरूको निःशुल्क उपचार गर्न र कोरोनाका कारण आय गुमाएका तथा विदेशबाट फर्किएका बेरोजगार युवाहरू र मजदुरहरूलाई राहत उपलब्ध गराउन माग गरिएको छ ।
विज्ञप्तिमा भूमिहिन सुकुमबासीका समस्या हल गर्न भनिएको छ भने खाद्य पदार्थ तथा पेट्रोलियम पदार्थमाथि भइरहेको कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न पनि माग गरिएको छ । यस्तै सुर्खेतमा राउटे युवतीमाथि भएको यौन दुव्र्यवहारको घटनाको निन्दा गर्दै उक्त अपराध कार्यमा संलग्न व्यक्तिलाई पनि कारबाहीको माग गरिएको छ । सरकारले गैरजिम्मेवार निर्णय गरी प्राकृतिक स्रोत र साधनमाथि दोहन गर्ने काम गरेको भन्दै यस प्रकारको गलत निर्णय फिर्ता लिन पनि विज्ञप्तिमा माग गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्