मुक्ति गैरे । पाल्पा । नेपाल कम्युनिस्ट पार्टी पाल्पाले आइतबार रिब्दिकोट गाँउपालिका वडा नं. २ कन्टिपोखरामा दैनिक श्रम गरेर जिविकोपार्जन गर्ने श्रमिक मजदुर परिवारलाई राहत वितरण गरेको छ ।
एकै घर परिवारमा डेढ बर्षका बच्चासहित ४ परिवार कोरोना भाइरस सङ्क्रमणले ग्रसित भएका कारण दैनिकी जिविकोपार्जनमा समस्या परेको थियो । १२ जनाको परिवार भएको घरमा दुई पुरुषलाई कोभिड रोग लागेपछि खाने जोहो पनि हराएको थाहा पाएपछि नेपाल कम्युनिस्ट पार्टीले तत्काल चामल, दाल, तेल, नुन लिएर उक्त ठाउँमा पुगेको थियो । जिल्ला जनसरकार प्रमुख नेपालको नेतृत्वमा नेकपा जिल्ला सदस्य तथा ईलाका इन्चार्ज आकाशसहित आधा दर्जन नेता कार्यकर्ता राहत वितरणका लागि पुगेका थिए ।
उक्त पिडीत परिवारलाई राहत वितरण गर्दै नेकपा जनसरकार प्रमुख नेपालले पार्टी जनताको विपत्तिमा उद्दार, राहत, व्यवस्थापन कार्यमा जतिसक्दो लाग्ने र निर्माण गर्ने जनसेवा अभियानमा जुटेको बताए । स्थानीय सरकार सिंहदरवार नभएर जनतालाई करले ढाड सेक्ने करदरबार भएको बताउँदै उनले जसको घरमा प्रतिव्यक्ति आम्दानी र जोहो गर्ने वातावरण छैन, उसको घरमा जथाभावी कर उठाएर जनतालाई हैरानी बनाएको बताए ।
उक्त कार्यक्रमको संचालन तथा समन्वय आकाशले गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्