लक्ष्मण पौडेल । बुटवल । नेपाल बाल सङ्गठन रुपन्देहीले बाल मन्दिर बुटवलमा अध्ययनरत २५ जना बालबालिकाका परिवारलाई सोमबार राहत सामग्री प्रदान गरेको छ । बाढी र कोभिडबाट प्रभावित तिनाउ नदी तटीय क्षेत्रमा बसोबास गर्दै आएका २५ परिवारलाई सहयोग स्वरुप राहत सामग्री प्रदान गरिएको बाल संगठन रुपन्देहीका अध्यक्ष साजन भण्डारीले जानकारी दिए ।
राहत वितरण गर्दै बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनस्वास्थ्य शाखा प्रमुख मित्रमणि खनालले संस्थाले अप्ठेरोमा परेका परिवारलाई राहत प्रदान गरेर सह्रानीय काम गरेको भन्दै प्रशंसा गरे ।
बाल संगठनले राहत स्वरुप प्रति परिवार २५ केजी चामल, २ केजी दाल, एक लिटर तेल, सोयाविन, दुई केजी नुन लगायत खाद्य सामग्री वितरण गरेको छ । ‘लामो समयदेखि कोरोना महामारी कायम रहेको र असार लागेसँगै आएको बाढीका कारण प्रभावित परिवारलाई खाद्यान्न सहयोग गरेका हौं”–संगठनका अध्यक्ष भण्डारीले भने ।
उनले बाल संगठन दुःख र अप्ठेरोमा परेका अभिभावकहरुको साथमा रहेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने बताए । “महामारीबाट अप्ठेरोमा परेका बालमन्दिरमा अध्ययनरत बालबालिकाका परिवारलाई राहत प्रदान गर्नु र उनीहरुको दुःखसुखमा साथ दिनु हाम्रो दायित्व हो, अप्ठेरो पर्दा बाल संगठन अभिभावककै साथमा छ”–उनले भने ।
राष्ट्रिय युवा समिति रुपन्देहीका अध्यक्ष सरोज पोखरेलले महामारीबाट प्रभावितलाई राहत वितरण गरेर बाल संगठनले रचनात्मक काम गरेको बताए ।
प्रतिक्रिया राख्नुहोस्