नेकपा इलाम निरन्तर जनश्रमदानमा

इलाम । नेकपा इलाम यतिबेला जनश्रमदान, कोभिड पीडित जनतालाई सहयोग, आफ्नै आन्तरिक उत्पादन र कार्यकर्ताहरुको वैचारिक स्तरलाई सुदृढ गर्न निरन्तर स्कुलिङमा लागेको छ । जिल्लाको माई नगरपालिका र रोङ्ग गाउँपालिकामा जनश्रमदान पनि गरिरहेको छ । 

जनश्रमदान अन्तर्गत नेकपाले भत्किएका सडक तथा बाटो मर्मत, खानेपानीको मुहान सरसफाइ र कुलो पैनीहरुको मर्मत गर्ने काम सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टी इलामले यतिबेला कोरोना पीडित जनतालाई सकेको सहयोग गर्दै स्थानिय पालिकासँग समेत समन्वय गर्दै उनिहरुको उपचार र उद्धारमा समेत सहयोग गरिरहेको जिल्ला इन्चार्ज सुमनसिंह पौडेलले बताए ।

यस्तै ‘एक संगठन एक उत्पादन’ भन्ने नारालाई आत्मसात गर्दै आफ्नै आन्तरिक उत्पादनको निम्ति १५ रोपनी जग्गा लिजमा लिएर बाख्रापालन, फलफुल र सब्जी खेतीको समेत तयारीमा पार्टी जुटेको छ । यस्तैमा अलैंची र अदुवासमेत रोप्ने काम सुरू भैसकेको प्राप्त समाचारमा जनाइएको छ ।

पार्टीले इलामका सम्पूर्ण सहिदहरुको स्मरण र सम्मानमा एउटा सहिद समाजघर निर्माण गर्ने तयारी स्वरुप ५ रोपनी जग्गा लिंदै कामलाई अगाडि बढाएको जिल्ला सचिव मौसमले जनाए ।

कोरोना महामारीका कारण जनतामा सहजै जान असजिलो भएपनि आफ्नो राजनीतिक बिषय जनतामा पुगाउँन र सबैसँंग छलफलको वातावरण बनाउन पार्टी, सबै जवस मोर्चा, श्रम र अध्यनमा जोडिएको जिल्ला इन्चार्ज सुमनसिंहले बताएका छन ।