माघ ३, बुटवल । नेकपाका सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोलालाई ललितपुरको ज्वालाखेलस्थित जिल्ला प्रहरीको कार्यालयको हिरासत कक्षमा नेकपा क्रान्तिकारी माओवादी नेता तथा देजमो नेपालका अध्यक्ष सीपी गजुरेलले भेट गरेका छन् ।
प्रहरी प्रमुख(एसएसपी) किरण बज्राचार्यको कार्यकक्षमा करीव आधा घण्टा गजुरेलले भेट वार्ता गर्नु भएको छ । भेटका क्रममा उहाँहरुबीच देशको समसामयिक राजनीतिक विषय र अहिले विकसित भइरहेका घटनाक्रमहरुवारे छलफल गरिएको जनाइएको छ । उक्त भेटमा २३ दलीय कार्यगत एकता र चारदलीय क्रान्तिकारी संयुक्त मोर्चावारे पनि छलफल गरिएको जनाइएको छ ।
केही दिन अघि ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा प्रहरीले चलाएको सर्च अप्रेसनमा नेता बास्तोलालगायत पार्टीका तीन जना कार्यकर्ताहरु पनि पक्राउ गरिएका थिए र उनीहरु सबैलाई अहिले जिप्रका ललितपुरको जावलाखेलमा राखिएको छ ।
बास्तोलाको पक्राउपछि महासचिव विप्लवले प्रेस वक्तव्य जारी गर्दै कार्यकर्तालाई तागतपूर्ण र सचेततापूर्वक अगाडी बढ्न अपिल गर्नुभएको थियो । महासचिव विप्लवले वक्तव्यमार्फत् माघ ३ देखि १० गतेको नेपाल बन्दसहितको संघर्षको कार्यक्रम घोषणा गर्नुभएको छ ।
जिल्ला प्रहरी कार्यालय जवलाखेल प्रमुख किरण बज्राचार्यले गजुरेललाई दिएको जानकारी अनुसार उहाँमाथि खासै कुनै फौजदारी अभियोग लगाइएको छैन र उहाँमाथि आवश्यक अनुसन्धान पछि कानुनी प्रक्रियामा लगिने छ ।
प्रतिक्रिया राख्नुहोस्