चैत ५, बुटवल । नेपाल कम्युनिस्ट पार्टीको सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासंघ, केन्द्रीय समितिको आयोजनामा आज बुटवलमा २३ औं सांस्कृतिक प्रतिरोध दिवसको सन्दर्भमा विविध कार्यक्रम आयोजना गरि भव्यताका साथ मनाइदैँ छ ।
कार्यक्रममा केन्द्रीय सामना सांस्कृतिक परिवार, क्षितिज सांस्कृतिक परिवारको विविध साङ्गीतिक प्रस्तुति रहने र साथमा राष्ट्रियता, जनतन्त्र, जनजीविका तथा वैज्ञानिक समाजवादका पक्षमा सिर्जित कविता वाचनका लागि मार्क्सवादी कविहरूको उपस्थिती समेत रहने बताइएको छ ।
कार्यक्रम बुटवलस्थित ट्राफिक चोकमा दिउँसो १ बजे आयोजना गरिएको आयोजकले बताएको छ ।
जनताको गीत गाउँदै हिँड्नेक्रममा महासङ्घका केन्द्रीय सदस्य च्याङ्बा लामासहित सातजना कलाकारहरूलाई तत्कालीन सत्ताले नियन्त्रणमा लिएर जिउँदै आगो झोसेर हत्या गरेको दिनलाई प्रतिनिधिमूलक दिनको रूपमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घले हरेक वर्षको चैत ५ लाई सांस्कृतिक प्रतिरोध दिवसको रूपमा मनाउँदै आएको छ । महासंघले रोल्पाको भाबाङलगायतका सामूहिक हत्याकाण्ड र देशैभरका सांस्कृतिक सहिदलाई सम्मान गर्ने र उनीहरूका सपनालाई पूरा गर्नका लागि प्रण गर्ने दिनको रूपमा यो दिवस निरन्तर मनाउँदै आएको छ ।
उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण जनबाटो अनलाइन फेसबुक पेजबाट हुने छ ।
प्रतिक्रिया राख्नुहोस्