जाजरकोट । नेकपा निकट अखिल (क्रान्तिकारी) जाजरकोटले महामारीको बेला सरकारी विद्यालयले लिएको शुल्कप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
आइतबार सङ्गठनका जाजरकोट जिल्ला अध्यक्ष विराजन शाहीले प्रेस विज्ञप्ति जारी गर्दै महामारीको बेला सरकारी तथा निजी सबै विद्यालय बन्द रहेको तर अधिकांश विद्यालयले शुल्क उठाइरहेको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘राज्यले दिइएको भनिएको समाजवाद उन्मुख शिक्षामा आज सरकारी विद्यालयहरुले समेत यसरी मनोमानी ढंगले शुल्क उठाई राख्दा राज्यको जवाफदेहीता शुन्य प्रायः हुनु अत्यन्तै लज्जास्पत बिषयको कुरा हो । सदरमुकाम खलङ्गामा रहेको त्रिभुवन माध्यमिक विद्यालयले जुन शुल्क तोकेर सुचना प्रकाशन गरेको छ, यसप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’
राज्यले दिइएको भनिएको समाजवाद उन्मुख शिक्षा नियुक्तिको विपरीत शिक्षालाई निजीकरण,व्यापारीकरण, दलालीकरण, भ्रष्टीकरण र माफियाकरण गर्नले आज राज्यका शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत हुन पुगी विद्यार्थी र आम जनसमुदायहरुलाई थिलोथिलो पारिरहेको अवस्था छ, त्यसकारण विद्यालयले कोरोना महामारीको अवस्थामा शैक्षिक संस्थाहरु नै बन्द भएको बेला तोकिएको शुल्कलाई खारेज गर्न र आम विद्यार्थीहरुलाई अनावश्यक शुल्क नतिर्न पनि अपिल गर्दछौँ’ विज्ञप्तीमा भनिएको छ ।
प्रतिक्रिया राख्नुहोस्